काठमाडौं, पुस ६ः बारा, मोरङ, रुकुम पश्चिम र मकवानपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पत्रफाउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-२१ चकरीबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेश प्रसाद यादव लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ना.५ प ५७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-९ डाइनियाबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १ बोतल स्काफ प्रोसिभन, ११ ट्याब्लेट नाईट्राभेट, ४२ ट्याब्लेट ओपिडोल र १ थान मोबाईल सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २२ वर्षीय बिक्रम पासवाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै रुकुम पश्चिम, बाफिकोट गाउँपालिका-६ परिवनबाट करिब २ केजी अवैध लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीया जसी राना र ५० वर्षीया मिना कुमारी शाही रहेका छन् । अस्थाई प्रहरी पोष्ट मग्माबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-२ कुडेली बस्ने १९ वर्षीय मुकेश चेपाङ र सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय राजकुमार गोले रहेका छन् ।
बा.३३ प ५६२५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।