अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 09 | 08:41 am 285

कैलाली, माघ २६। धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बसन्तटोल बस्ने १९ वर्षीय आदित चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ झगडपुबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनुषा, लक्ष्मीनियाँ गाउँपालिका-४ सपही बस्ने ४२ वर्षीय सिकिन्द्र साहलाई अवैध लागूऔषध गाँजा २ किलो ५ ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-४ बगाह शान्ती चोक बस्ने ३१ वर्षीय किरण अधिकारीलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, ब्रुपिनोर्फिन ५ एम्पुल, नाईट्रोजन ३ ट्याब्लेट र सिरिन्स ३ थानसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा जुत्ताभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.