अवैध लागूऔषधसहित पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 03 | 09:28 am 469

काठमाडौं, माघ २०। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनुर्फिन १ सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड १ सय ४५ एम्पुल र डाईजेपाम १ सय ४५ एम्पुलसहित सप्तरी घर भएका २६ वर्षीय ईन्द्रजित पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सप्तरी, तिलाठी कोईलाठी गाउँपालिका-१ भन्सार चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १७ ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिरहुत गाउँपालिका-५ लोहजरा बस्ने २१ वर्षीय विनोद मण्डल र २६ वर्षीय भोले मण्डल रहेका छन् । प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका-१ प्युठान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही गाउँपालिका-१ माथिल्लो भालुवाङ बस्ने २४ वर्षीय हेमन्त रोकालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.