तनहुँ, साउन ३१ । ब्यास नगरपालिका-११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाएका छन् ।
त्यसैगरी, झापा जिल्लाको झापा गाउँपालिका-४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने ५ ग्राम ७ सय ४० मिलिग्रामसहित दमक नगरपालिका-३ बस्ने २२ वर्षीय जीवन सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।