धनुषा, असोज ११ : जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न हातहतियार सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कमला नगरपालिका ६ बस्ने १८ बर्षीय राजगीरकुमार महतो तथा २५ बर्षीय शत्रुघन ठाकुर, बिदेह नगरपालिका १ ठाडी बस्नेहरु २२ बर्षीय नरेशकुमार ठाकुर, ३८ बर्षीय श्यामसुन्दर ठाकुर तथा १९ बर्षीय रबिन्द्र ठाकुर, मिथिला बिहारी नगरपालिका ७ तारापट्टी सिर्सिया बस्ने २८ बर्षीय आजाद यादव र भारत बिहार मधुवनी जोकीथाना २ बस्ने २७ बर्षीय किशोरकुमार शर्मा रहेका छन् ।
अनुसन्धानको क्रममा मंगलबार प्रहरी नियन्त्रणमा रहेका नरेशकुमारलाई छुटाउन भन्दै आएका श्यामसुन्दर र रबिन्द्रलाई समेत प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले दिएको सूचनाको आधारमा बुधबार ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले राजगीर तथा शत्रुघनको साथबाट १ नाल स्वचालित पेस्तोल तथा ६ राउण्ड गोली, आजाद र किशोरकुमारको साथबाट स्वचालित पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित फेला पारी पक्राउ गरेको हो ।
साथै बिदेह नगरपालिका १ ठाडी बस्ने राजकिशोर ठाकुरको घरमा भुसभित्र लुकाईछिपाई राखेको १ थान स्वचालित पेस्तोल र २ राउण्ड गोली प्रहरीले फेला पारेको छ । राजकिशोर भने चाहीँ घरमा नभएकाले प्रहरीले खोजी गरिरहेको बताएका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।