तनहुँ, असोज २५ः बन्दिपुर गाउँपालिका ४ सानोडुम्रे स्थितमा चुँदीखोलामा अवैध रुपमा करेन्ट लगाई माछा
मारिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका १ कल्याणटारका बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा,
श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार र सम्राट तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुले प्रयोग गरेको मेशिन तथा टाँगा सहित जलचर ऐन २०१७ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराएकोमा उनीलाई जनही ५ हजारका दरले जरिवाना गरिएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी विभिन्न मुद्दामा फरार २६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा वन मुद्दामा बिगत ९ बर्ष देखि फरार रहेका तनहुँ रिसिङ गाउँपालिका ५ पिपलटारका कुल बहादुर दरै पक्राउ परेका छन् ।
उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०६८ असार २३ गतेको फैसलाले ५ महिना २६ दिन कैद र ३८ हजार २ सय २० रुपैया जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दरैलाई अदालतमा पेश गरिएको छ ।
त्यस्तै वन मुद्दामा २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार २ जना, गाली बेईज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, कुलोपानी मुद्दामा फरार १ जना, कुटपिट मुद्दामा फरार ३ जना, लुटपिट मुद्दामा फरार २ जना, करकाप मुद्दामा फरार २ जना, मानसिक तथा शारिरिक हिंसा मुद्दामा फरार १ जना, जालसाजी मुद्दामा फरार २ जना, लागूऔषध मुद्दामा फरार २ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २६ जना रहेका छन् ।
उनीहरुलाई २०७७ असोज २५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जरिवाना जम्मा ७० हजार १ सय ४ रुपैयां जरिवाना र ५ महिना २६ दिन कैद भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको हो ।