काठमाडाैं, जेठ २५ः गैरकानुनीरूपमा थुनामा रहेका व्यक्तिलाई रिहा गर्न आदेश दिँदा पालना नभएमा नेपालको संविधान तथा कानुनमा भएको व्यवस्थाबमोजिम अवहेलनामा कारबाही गर्ने चेतावनी सर्वोच्च अदालतले गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयसमेतलाई दिएको छ ।
थुनामा रहेका चक्रबहादुर खत्रीलाई रिहा गर्न तीनपटकसम्म सर्वोच्च अदालतले आदेश दिएको भए पनि अनेक बहानामा थुनामा राखेको पाइएपछि सर्वोच्चले शुक्रबार त्यस्तो आदेश पालना नभएमा अवहेलनामा कारबाही गर्ने प्रहरी कार्यालयसमेतलाई चेतावनी दिएको हो ।
खत्रीलाई २०७६ साल वैशाख २ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । सो मुद्दामा भएको फैसलाबमोजिम कैदको अवधि सकिएपछि पनि पुनः अर्कै मुद्दा लगाइएको थियो ।
सो कार्यविरुद्ध रिट निवेदन दायर भएपछि सर्वोच्चले गत वैशाख २८, जेठ २ र १५ गते खत्रीलाई रिहा गर्न आदेश दिएको थियो । तीनपटकसम्म आदेश गर्दा पनि रिहा नगरेपछि सो कुराको जानकारी गराई सर्वोच्चमा पुनः रिट निवेदन दायर गरिएको थियो । नेपाल समाचारपत्रबाट