अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

रिपोर्ट नेपाल | 2019 Mar 06 | 04:33 pm 2674

गाईघाट, फागुन  २२ : कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो रु ५०० भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् ।

उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका कृषकले उत्पादन गर्दै आएको अलैँचीले यस वर्ष उचित मूल्य पाउन नसकेपछि अहिले आफूहरु निराश हुनुपरेको स्वयं कृषक बताउँछन् ।

रौता–५ आँपटारका अलैँची उत्पादक कृषक टेकबहादुर मगरले आफ्नो अलैँचीले उचित मूल्य नपाएको बताए । “पहिलापहिला अलैँचीको मूल्य राम्रो भएकाले आर्थिक आम्दानीका लागि व्यावसायिकरूपमा अलैँची खेतीमा लागियो, हिउँद, वर्षा, दुःख ऋणपान गरेर अलैँची फलाइयो, मङ्सिरदेखि अलैँचीको मूल्य पर्खेर बसियो पनि, अहिले मूल्य घटेर रु ५०० प्रतिकिलो भयो, अब आफूहरु निराश हुनुबाहेक अरु केही रहेन”, उनले भने।

अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा लगानीसमेत नउठ्ने र अलैँचीबारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने तावाश्रीका कृषक सुकमान तामाङको गुनासो छ । तामाङ भन्छन्, “बरु मङ्सिर, पुससम्म रु दुई हजार प्रतिकिलो मूल्य थियो, अहिले त झनै अलैँची व्यापारीले रु ५०० प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नुभन्दा आगोमा डढाएर मन बाँध्नुबाहेक अरु विकल्प छैन ।”

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर, इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरेपछि कृषक मारमा परेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.