काठमाडौँ, आश्विन १२ / संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन्।
शनिवार मन्त्री पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिएका हुन्। मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो।
अलपत्र परेका पर्यटकको उद्धारका लागि पर्यटन विभागका निर्देशक राकेश गुरुङ (सम्पर्क नम्बर ९८५६०४०९७६) र पर्यटन बोर्डका निर्देशक नन्दिनी लाहे थापा (सम्पर्क नम्बर ९८५१०२२९१२)लाई सम्पर्क गर्न सकिनेछ।
यस्तै, उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न प्रहरी नायब उपरीक्षक रित बहादुर सिंह (सम्पर्क नम्बर ९८५५०९०४८६)लाई तोकिएको छ।
यसका साथै सबै विमानस्थलहरू सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सुचारु गर्ने, मौसम तथा उडान सम्बन्धी पूर्व सूचनालाई सर्वसाधारणको जानकारीको लागि निरन्तर प्रवाह गरी राखे, होटेल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटेल एवं डाइनिङ सेवा सहुलियत एवं नियमित शुल्कमा नै सहज ढङ्गबाट प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।