अर्घाखाँची, चैत २५ :अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना भएको हो ।
लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका–८ नुवाकोटको लात्ते बाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खसेको थियो ।
दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका–२ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको परिचय खुल्न सकेको छैन् ।
१४ सिट सवार जिपमा १८ जना यात्रु थिए। जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको छ ।