अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुबै पक्राउ

| 2023 Feb 02 | 08:14 am 1261

काठमाडाैं, माघ १९ः नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल दिने र दिन लगाउने २ जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको गौरी शंकर नगरपालिका ५ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २३ वर्षीय देव बहादुर श्रेष्ठ र दोलखा घर भइ हाल भक्तपुर बस्दै आएका २५ वर्षीय युवराज खड्कालाई ट्राफिक प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भक्तपुरको राधे राधे
ट्रायल सेन्टरबाट खड्काको नाममा श्रेष्ठले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी पठाइएकोमा अभद्र व्यवहार सम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत ठिमी भक्तपुरले जनाएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागि विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र
प्रसाद भट्टले बताए । यसका साथै अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.