अरुण नदीमा भेटियो वेवारिसे शव

रिपोर्ट नेपाल | 2022 Feb 05 | 08:37 am 1769

धनकुटा, माघ २२ः धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीको किनारमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । अपरान्ह करिब ४ बजे नदीको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

गोरो वर्ण, पातलो शरीर, छोटो कपाल, रातो रंगको हाफ भेष्ट र कालो रंगको हाफ पेन्ट लगाएको मंगोलीयन अनुहार भएको करिब ५.५ ईन्च उचाईको अन्दाजी ४०-४५ वर्षको पुरुषको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ‘नदीमा तैरिरहेको अवस्थामा शव भेटियो,’ डिएसपी कार्कीले भने, ‘शवको प्रकृति हेर्दा पुरानो जस्तो देखिदैन, झण्डै एक दिनभित्रकै घटना जस्तो देखिन्छ ।’

स्थानीयबासीले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो । जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का तयार गरेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि साँझ जिल्ला अस्पताल ल्याइएको छ ।

मृतक को हुन् र के कारणले मृत्यु भएको खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी इकाइहरुमा खबर गरेर मृतकको पहिचान र घटनाको अनुसन्धान प्रकृया अघि बढाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.