अरुणको सुरुङमा पुरिएका ३९ घण्टापछि ४ जनाको जीवितै उद्धार

रिपोर्ट नेपाल | 2018 Jun 17 | 01:05 pm 2628

संखुवासभा, असार ३ : अरुण तेस्रोको सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा पुरिएका चार जनाको ३९ घण्टापछि सकुसल उद्दार गरिएको छ। सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए ।

कालिकोट सिउना गाउँपालिका-४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका-१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर ईलेक्टोनिक मिस्त्री थिए । पहिरो करिब ६० मिटर माथिबाट खसेको थियो ।

पहिरो पन्छाउने क्रममा सुरुङको मुखमा भएको ठूलो ढुंगा विस्फोट गराएपछि पुरिएकाहरुको आवाज बाहिर सुनिएको थियो । त्यसपछि डोरीको सहायताले उनीहरुलाई बाहिर निकालिएको थियो ।

उनीहरुको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । पुरिएकाहरु जीवितै हुने आशंका पछि घटनास्थलमा चिकित्सक समेतको टोली तयारी अवस्थामा राखिएको थियो । शनिबार बिहानबाट उनीहरुको उद्धार भए पनि भीरबाट धेरै माटो र ढुंगासहितको पहिरो झरेकाले कठिनाई भएको थियो ।

घटनास्थलमा रौताहा कम्पनी समेतका ६ वटा स्काईभेटर र डोजर प्रयोग गरिएको थियो । उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएको डीएसपी श्यामकुमार सारुमगरले बताए ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.