अरिंगालको आलोचनापछि कार्यकर्तालार्इ मौरी बन्‍न ओलीको निर्देशन

| 2018 Sep 22 | 05:20 pm 3602

काठमाडौं, असोज ६: प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालार्इ अरिंगाल बन्‍न निर्देशन दिएको एक सातापछि पुन मौरी बन्‍न निर्देशन दिएका छन्। अरिंगालको चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले कार्यकर्तालार्ए मौरी बन्‍न निर्देशन दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले विरोधीविरुद्ध अरिंगाल बनेर झम्टिन निर्देशन दिएका थिए।

वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै नेकपाकासमेत रहेका ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए ।

‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, उनले भने । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाव दिएका छन् ।

‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं,आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको दावी गरे ।

‘वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन, फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन’, उनले भने ।

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.