काठमाडाैं, भदाै ३० सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।
नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बेधान गर्दै उनले केही अराजकतावादी तत्वहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठ्न सकिन्छ कि ! भन्ने दुस्साहस गरिरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह समेत गरे ।
सम्बाेधनकाे क्रममा दाहालले हजारौँ शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको बताए ।
त्यसप्रति सचेत रहँदै समाजवाद निर्माण गर्ने सपना पूरा गर्ने काममा लाग्न सिंगो पार्टी पंक्ति तथा आम जनसमुदायलाई पनि आग्रह गरे । त्यस अवसरमा उनले नेता बोगटीलाई निष्ठावान्, चरित्रवान् नेताको रुपमा चित्रण गर्दै उनले देखाएको बाटोबाटै समाजवाद निर्माणको महाअभियानलाई सफल बनाउन सकिने धारणा व्यक्त गरे।