अरनिको राजमार्गमा ट्यांकर दुर्घटना हुँदा दुईको मृत्यु

| 2019 Nov 16 | 10:55 am 1801

काभ्रे, कात्तिक ३०: धुलिखेल नगरपालिका–८ थाक्ले स्थित अरनिको राजमार्गमा गएराति भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा गएराति बाटोमा नै मृत्यु भएको हो।

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो।

ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा २ ख ६२५६ नंको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल भने घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएको प्रहरीले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.