अमेरिकी दूतावासको नक्कली कागजात बनाएर ४५ लाख ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 10 | 07:25 pm 1969

काठमाडौं, साउन २५ : अमेरिकी भिसा लगायतका कागजातहरू नक्कली बनाईदिए ठगी गर्ने एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अमेरिकाको डिस्कभरी च्यानलको काम गर्ने भन्दै ठगी गर्ने प्रसन्न खातीलाई पक्राउ गरेको हो ।

नक्कली कार्ड

काठमाडौंको डिल्लीबजार घर भई गोकर्णेश्वर बस्ने प्रसन्नले डिस्कभरी च्यानलको नक्कली कार्ड देखाएर विभिन्न व्यक्तिलाई प्रभावमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । प्रसन्नबाट ठगिएका ३ जना पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनले एकजना पीडितलाई अमेरिका पठाइदिन्छु भन्दै पटक-पटक गरी २० लाख ठगेका छन् भने अर्कालाई काठमाडौंस्थित अमेरिकी दूतावासबाट एउटा परियोजना पारिदिने भन्दै २५ लाख रुपैयाँ ठगेका छन् ।

यस्तै नेपालस्थित अमेरिकी दूतावासको कोषबाट १५ करोडको परियोजना पार्ने भन्दै २५ लाख रुपैयाँ असुल गरेको देखिएको सीआईबीका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । खातीले सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाएर विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.