अमेरिका प्रस्थान गरेका कोरियाली अधिकारी किन पुगे चीन ?

रिपोर्ट नेपाल | 2018 May 31 | 04:50 am 2664

उत्तर कोरिया र अमेरिकाबीच सम्भावित वार्ताको चर्चाले विश्व नै तातेको अवस्था छ । वार्ताको तिथिमिति तोकिएर पनि पछिल्लो चरणमा माहोल बिग्रिएको ठानिएको परिवेशमा उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल हिजो बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको सिन्ह्वाले जनाएको छ ।

उत्तरकोरियाबाट अमेरिका जान हिँडेका किम योङ चोल बेइजिङ पुगेर त्यहाँका अधिकारीहरुसँग आवश्यक परामर्श भेट गरेका बताइएको छ । उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराएका भनिए पनि अमेरिका हिँडेका व्यक्ति चीन हुँदै जान थालेबाट उत्तर कोरियाली मामलामा चीन कति हाबी रहेछ भन्ने खुलासा भएको अन्तर्राष्ट्रिय मामलाका जानिफकारहरुले टिप्पणी गरेका छन् ।

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ । सोही प्रयोजनका लागि योङ त्यसतर्फ लागेका हुन् ।

चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र व्यक्ति हुन् ।

अमेरिकामा रहँदा उनले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.