काठमाडौँ ५ असार / अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको छ ।
यसका लागि सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलहरूको गोपनीयता सेटिङ ‘सार्वजनिक’ राख्न निर्देशन दिइने बीबीसीले जनाएको छ ।
अमेरिकी विदेश विभागको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रो भिसा स्क्रिनिङमा उपलब्ध सबै जानकारीहरू प्रयोग गर्छौं । जसले अमेरिकामा प्रवेशको लागि स्वीकृत नहुन सक्ने आवेदकहरू, विशेषगरी राष्ट्रिय सुरक्षाको लागि खतरा हुन सक्नेहरू पहिचान गर्न सक्छन्।’
नयाँ दिशानिर्देशहरूअन्तर्गत आवेदकहरूको अनलाइन उपस्थितिसहित विस्तृत र गहन अनुसन्धान गरिने विज्ञप्तिमा उल्लेख छ । अमेरिकी विदेश विभागका अनुसार विदेशमा रहेका अमेरिकी दूतावासहरू र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका पुनः शुरू गर्नेछन्।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू बन्द गर्न आदेश दिएका थिए। ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो ।