अभिव्यक्ति स्वतन्त्रताको सीमा र ‘हेट स्पीच’

| 2021 Sep 08 | 12:02 pm 401

  • बबिता बस्नेत

कुनै बेला थियो मानिसहरू आफ्नो मनमा लागेको कुरा, ब्रम्हले देखेको कुरा बोल्न, अभिब्यक्त गर्न पाउँदैन थिए । राणाकालमा ‘मकैको खेती’ पुस्तक लेखेबापत सुब्बा कृष्णलाल अधिकारी जेल जानुपऱ्यो । राणा शासनप्रतिको आफ्ना असन्तुष्टिलाई साहित्यिक रूपमा उल्लेख गरेको भनी जेल हालिएको थियो । भनिन्छ, जेलमा बस्दा उहाँलाई मकैबाहेक अन्य कुनै पनि खानेकुरा खान दिइएको थिएन । नौ वर्ष कठिन समय बिताएपछि जेलमै उहाँको मृत्यु भएको थियो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका बेला बोल्न पाउनु, शासकको आलोचना गर्नु कति ठुलो कुरा थियो भन्ने इतिहासका विभिन्न कालखण्डमा जनतामाथि भएका दमन र हत्या साक्षी छन् । शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले राणाहरूको विरोध गरेबापत फाँसी नै चढ्नु पऱ्यो । पञ्चायतकालमा पनि आफ्ना विचार अभिब्यक्त गरेबापत धेरै मानिसहरूले आफ्नो उर्वर समय जेलमा बिताए ।

हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ भन्ने आवाजका लागि हाम्रा अग्रजको कठिन सङ्घर्षको पृष्ठभूमि जोडिएको छ । नेपाली नागरिकले अभिव्यक्तिको स्वतन्त्रता सहजै प्राप्त गरेका होइनन् । वि.सं. २०४७ को प्रजातन्त्रपछि अभिव्यक्तिको स्वतन्त्रतालाई संविधानमा राखियो । नेपाल अधिराज्यको संविधान २०४७ भाग ३ को धारा १२ मा स्वतन्त्रताको हकअन्तर्गत पहिलो नम्बरमै ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’लाई राखिएको थियो । वि.सं. २०७४ को संविधानमा पनि स्वतन्त्रताको हकअन्तर्गत पहिलो नम्बरमै ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’लाई राखिएको छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघले पारित गरेको मानवअधिकारको विश्वब्यापी घोषणापत्रको धारा १९ मा अभिव्यक्ति स्वतन्त्रताको हक उल्लेख गरिएको छ । बिनाहस्तक्षेप सबैलाई अभिव्यक्ति राख्ने हक भएको तथा कुनै पनि माध्यमबाट विचार ब्यक्त गर्ने अधिकारको कुरा यस धारामा उल्लेख छ । अभिव्यक्ति स्वतन्त्रताको यो अवधारणालाई विश्वब्यापी गर्नका लागि ‘आर्टिकल-१९’ नामको संस्था नै छ, जसको मुख्य काम अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको अधिकारलाई प्रवद्र्धन गर्नु हो ।

हेर्दाहेर्दै समयक्रममा यस्ता दिन आए कि अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणास्पद अभिव्यक्ति अर्थात् ‘हेट स्पीच’ ब्यापक हुन थाल्यो ! जसलाई न्युनीकरण गर्नका लागि अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरूले नै यसका सीमा या दायराका बारेमा चर्चा गर्नुपर्ने अवस्था आएको छ । ‘हेट स्पीच’को अर्थ यस्तो अभिव्यक्ति जसले घृणा फैलाउँछ भन्ने हुन्छ । कुनै पनि लिङ्ग, धर्म, समूदायलाई भड्काउने, एकार्काको सद्भाव मेट्न खोज्ने अभिव्यक्ति दिनु हेट स्पीच हो । कुनै पनि शब्द बोलेर, लेखेर, दृष्यबाट अरुमा डर त्रास पैदा हुन्छ, हिंसा महसूस हुन्छ र भड्किन्छ भने त्यसलाई हेट स्पीच मान्नुपर्ने हुन्छ । कसैलाई चोट पुऱ्याउने तथा सम्मान र आत्मसम्मानमा आँच पुऱ्याउने अभिव्यक्ति हेट स्पीच हो । हामीकहाँ केही समययता हेट स्पीच ब्यापक बन्दै गइरहेको छ । हेट स्पीच र आलोचना फरक कुरा हुन् । आलोचनामा सुधारको अपेक्षा हुन्छ, हेट स्पीचमा घृणा फैलाउने उद्देश्य हुन्छ, आलोचना रचनात्मक र तार्किक हुन्छ, हेट स्पीचमा घृणा हुन्छ । आलोचनामा सुधारका लागि सुझाव दिइन्छ, हेट स्पीच ‘हुँदैन’ भन्ने बाट सुरु भइ अनेक गालीगलौज पछि ‘हुँदैन’मै टुङ्गिन्छ । किन हुँदैन ? भन्ने तर्क खासै हुँदैन ।

राजनीतिक दलका भातृसंगठनहरूले पनि ‘हाइ टेक’ सङ्गठन निर्माणका लागि काम गरिरहेको देखिन्छ । साइबर सेना, आइटी आर्मी लगायतका नाम राखेबाट अबको लडाइँ मिडिया र प्रविधिको प्रयोग गरेर हुनेछ भनी अनुमान लगाउन गाह्रो पर्दैन ।

हामीकहाँ हेट स्पीच सबैभन्दा बढी राजनीतिकर्मीहरूमा प्रयोग भइरहेको छ । साथै हेट स्पीच प्रयोग गर्ने राजनीतिकर्मीहरू पनि त्यत्तिकै छन् । कुनै सभा, समारोहमा एकार्कालाई गरिएका गाली र लगाइएका आक्षेप सुन्दा तर्कपूर्ण भन्दा बढी ‘तिमी या त्यो त खत्तम’ भन्नेमा जोड दिएको पाइन्छ । विगतमा नेकपाका पक्ष-विपक्षवाला नेताहरूले आयोजना गरेका ठुला-ठुला आमसभाका भाषणहरूलाई हेर्ने हो भने आलोचना भन्दा बढी हेट स्पीच नै प्रयोग भएको पाइन्छ । हामीकहाँ स्कुल कलेजदेखि नै राजनीति सुरु हुने हुँदा विद्यार्थी राजनीतिदेखि नै यसको सुरुवात हुने गरेको छ । एकार्कालाई सिध्याउने मनसायले गरिएका अभिव्यक्ति ढुङ्गामुढा, तोडफोड र हात हालाहालसम्म पुगेका अनेकौँ उदाहरणहरू छन् । युवाका नाममा खडा भएका सङ्गठनहरूले पनि हेट स्पीचको प्रयोग गर्ने गरेका छन् । विगतमा वाइसीएलदेखि युथ फेर्ससम्म र अहिले विभिन्न नाममा खुलेका सङ्गठनहरूमा संलग्न केही ब्यक्तिले हेट स्पीचको ब्यापक प्रयोग गर्दै आएका छन् । अहिले यी संगठनका नेताहरूले आक्रामक रूपमा अघि बढ्ने प्रतिबद्धता लिएको भन्ने कुराहरू सार्वजनिक भइरहेका छन् । अहिलेसम्मको अभ्यासलाई हेर्दा आक्रमक रूपमा अघि बढ्नुको अर्थ अरुलाई गाली गलौज र धम्कीपूर्ण अभिव्यक्तिका साथ अघि बढ्नु हो ।

विगतमा मुखले बोलेर उपभोग गर्दै आएको अभिव्यक्ति स्वतन्त्रता अहिले प्रविधिको प्रयोगबाट हुने गरेको छ । मिडिया र सोसियल मिडिया अभिव्यक्ति स्वतन्त्रताका प्रमुख माध्यम बनेका छन् । अभिव्यक्ति स्वतन्त्रताका मात्रै नभइ हेट स्पीचका लागि पनि मिडिया र सोसियल मिडियाको ब्यापक प्रयोग भइरहेको छ । ब्यक्तिगत गालीगलौजदेखि कुनै वर्ग, समूदायलाई नै होच्याउने काममा मिडिया र सोसियल मिडियाको प्रयोग भइरहेको छ । राजनीतिक दलका भातृसंगठनहरूले पनि ‘हाइ टेक’ सङ्गठन निर्माणका लागि काम गरिरहेको देखिन्छ । साइबर सेना, आइटी आर्मी लगायतका नाम राखेबाट अबको लडाइँ मिडिया र प्रविधिको प्रयोग गरेर हुनेछ भनी अनुमान लगाउन गाह्रो पर्दैन । विश्वका कतिपय मुलुकमा धर्मका नाममा हेट स्पीच बढेका छन्, हामीकहाँ राजनीतिका नाममा भइरहेको छ । सामाजिक सन्जाल र प्रविधिबाट हेट स्पीच प्रवाह हुन नदिन ट्वीटर, फेसबुक, गुगलले प्रतिबद्धता जनाएका छन् । तर यिनीहरूले अङ्ग्रेजी भाषा मात्रै टिप्न सक्छन्, अन्य भाषामा कहाँ के भइरहेको छ उजुरी नै गर्नुपर्ने हुन्छ । नेपालमा यी कुनै पनि सामाजिक सन्जालका कार्यालय छैनन् ।

हाम्रा नीति, कानूनमा ‘हेट स्पीच’का बारेमा कतै पनि उल्लेख गरिएको छैन । कुनै पनि कुरामा जब समस्या आउँछ अनि कानूनको आवश्यक्ता पर्छ । विगतमा साइबर अपराध थिएन, कानूनको पनि आवश्यकता थिएन । अहिले अपराध बढ्न थाल्यो कानूनको तयारी भइरहेको छ । हेट स्पीचका लागि हामीकहाँ छुट्टै कानून नभए पनि यसलाई रोक्नका लागि सूचनाको हकसम्बन्धी कानूनमा भएको ब्यवस्था र अन्य केही संवैधानिक ब्यवस्थाले काम गर्छ । सूचनाको हकसम्बन्धी कानूनले पाँच प्रकारका सूचना दिन मिल्दैन भनी स्पष्ट उल्लेख गरेको छ । सूचना दिन नमिल्ने भएपछि प्रवाह गर्न मिल्ने कुरै भएन । ति पाँच सूचना ‘नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति-सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने, अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने, आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनियतामा गम्भीर आघात पार्ने, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने, व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्याउने’ हुन् । यसको अर्थ यी कुरामा घृणास्पद अभिव्यक्ति दिन पाइँदैन । कुनै पनि अपराध गर्न उक्साउने र हिंसा भड्काउन दिइने अभिव्यक्ति अपराध हो । अभिव्यक्ति स्वतन्त्रताको सीमा र घृणास्पद अभिव्यक्तिको परिणामलाई अब हामीले बहसको विषय बनाउनुपर्छ । घटनार विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.