– नरेन्द्र बहादुर अर्याल
अब स्कुटीको सपना नदेख्नु प्रिय,
जसलाई कर र जरिवानाले ढाड सेकेको छ ।
पोहोर मात्र बार्षिक कर,
दश प्रतिशतले बढेको थियो,
तर अहिले जरिवाना नै शतप्रतिशत ।
पाउँदै आएको तीन महिने सहुलियत,
त्यो पनि खोसेर लगे छौंडाहरुले ।
खाइ नखाइ तिरेको करले बनेको,
बाटो छ कस्तो?
स्कुटी गुडाउँदा शरिर थिलो थिलो
मात्र पाँच मिनेट गुडाए,
मान्छे नै नचिनिने धुलो ।
बरु अब साइकलको रहर गर्नु प्रिय,
जुन पर्यावरण र वातावरण मैत्री छ ।
न त चिन्ता पेट्रोल र भारतको नाकाबन्दीको,
न त चिन्ता कर र जरिवानाको ।
कसरत र फाईदा छ गज्जबको ।
अब इन्टरनेटको रहर नगर्नु प्रिय,
जुन हिजोदेखी तेह्र प्रतिशतले बढेको छ ।
दलिनमा घुसारेको कापी,
र खोपामा राखेको कलम,
अब चिठी पत्र नै बनाउनु छ मूल्यवान ।
जसरी पहिले लेखिन्थ्यो सुख दुख र पीडा,
मन र मायाले आफन्त सम्झिँदा ।
अनि खोजिन्थ्यो हुलाक घर,
त्यसरी नै चलेकै थियो त संसार ।
कति भावुक हुन्थ्यो मन,
अनि भावुकतामा चल्थ्यो कलम,
पत्र नै थियो मन बहलाउने मल्हम ।
अब बजारको फलफूल र तरकारी,
खाने रहर नगर्नु प्रिय ।
देख्दा खाउँखाउँ लाग्ने,
तर खाँदा ज्यानै जाने ।
जुन छन् विषादी मिसिएका ।
ठूल्दाइलाई खुसी पार्न,
बिना चेक चाँज भित्रीएका ।
अब खालको जलुकी,
घर पछाडीको आरु र नास्पति ।
सिम र खोलाखर्कको डौंडे र निउरो ।
बारीको पुछारको खन्यु र बेडुलो,
खाने बानी बसाल्नु ।
पुरानो युगमा फर्किनु परेकोमा,
मन दुखाउँदै,
आँखाबाट आँसु कत्ति नखसाल्नु ।
बजार नपाएका हुम्ला र जुम्लाका स्याउहरुले,
बजार पाउन् भन्ने कामना गर्नु ।
गाउँले र पुरानै परिवेशमा,
सबैलाई माया र सद्भाव छर्नु ।
यदी हुम्ली र जुम्ली स्याउले,
यहाँसम्म आउने बाटो पाएछन् भने,
बल्ल किनेर खाउँला ।
म पनि आउँछु फर्केर गाउँमै,
संगै बसौंला, माया प्रिती लाउँला ।
२०७६ श्रावण २
मातातिर्थ, काठमाडौं
(यहाँ प्रयोग भएको खाल, सिम र खोलाखर्क गुल्मी जिल्ला मालिका गाउँपालिकाको मेरो प्यारो सेरोफेरो हो जहाँ म खेल्दै र रम्दै हुर्किएको थिएँ)