अब मुग्लिन सडकमा सवारी तिब्र गतिमा चलाए कार्वाही गरिने

रिपोर्ट नेपाल | 2018 Jun 18 | 11:47 am 2888

चितवन, असार, ४ : नारायणगढ मुग्लिन सडक चौडा भएस‌ंगै तीव्र गतिमा सवारी चलाउने चालकहरू अव ट्राफिक प्रहरीको निशानामा पर्ने भएका छन् । चालकले जथाभावि  ओभरटेक गर्न  थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।

तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले बताएका छन् ।

आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेग गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ ।

उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ । सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापर्बाही गरेका कारण बाध्य भएर कार्वाही अभियान बढाइएको जनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिक सडकखण्डमा ‘समय कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ । यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा भएपछि कालोपत्रे गर्ने काम समेत सम्पन्न भएपछि चालकहरुले सवारी तीव्र गतिमा चलाउने गरेका छन् ।

तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.