काठमाडौं, असार २० । यातायात व्यवस्था कार्यालयहरूबाट हुने सबै कामका लागि लाग्ने राजश्व अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्न पाउने भएका छन् ।
बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरे। अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली अनलाइनकै माध्यमबाट जोडिएका थिए।
यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र विचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिएँ। लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं, मन्त्री ज्वालाले भने। उनले पहिलाे चरणमा गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु भएको बताए। आगामी महिनाभित्र देभभरका सबै यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्ने उनको भनाइ रहेकाे थियाे ।
अब यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिनमात्र जानुपर्ने छ। ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेको यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने।