अफगानिस्तानकाे एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट, कम्तीमा १८ जनाको मृत्यु

| 2020 Oct 25 | 07:23 am 2397

एजेन्सी, कात्तिक ९ः अफगानिस्तान एक शिक्षा संस्थानमा आत्मघाती बम बिस्फोट गराइएकाे छ । साे क्रममा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएकाे छ ।

बिबिसी हिन्दीका अनुसार उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थानमा बिस्फोट भएको हो । शनिबार अबेर अपराहन्न भएकाे साे बिस्फोटनमा परी दर्जनौँ मानिस घाइते र मृतककाे संख्या अझै बढ्न सक्ने बताइएकाे छ ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा विस्फाेट भएकाे हाे, जहाँ सयौँ विद्यार्थी पढ्ने गरेका थिए । आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ । तर सरकारी अधिकारीहरूले भने यसकाे पुष्टि गरेका छैनन् ।

त्यहाँकाे गृहमन्त्रालयका प्रवक्ता तारिक अरियनले एक विज्ञप्तिमा भने, एक आत्मघाती बमवर्षकले भवनभित्र पस्न खोज्यो, जब सुरक्षाकर्मीहरूले उनलाई चिने, उनले ढोकामा नै विस्फाेटन गराइदियाे ।

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई बताएका छन् कि मारिएकाहरूमध्ये अधिकांश विद्यार्थीहरू थिए, जो बाहिरबाट भवनभित्र छिर्न प्रतीक्षा गरिरहेका थिए । उनले भने, म त्यहाँबाट करिब सय मिटर टाढा उभिरहेको थिएँ, त्यहीबेला एउटा ठूलो विस्फोट भयो ।

अफगानिस्तानमा पछिल्लाे केही सातायता हिंसात्मक घटनाहरूमा वृद्धि भएकाे छ। धेरैजसो आक्रमण तालिवानले गरेका भए पनि यस घटनामा भने संलग्नता नरहेकाे उसले बताएकाे छ । सरकार र तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ, जसमा यी हिंसाकाे प्रभाव पर्न सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.