अपडेट- दाङ दुर्घटनामा: मृत्यु हुनेको संख्या तीन महिलासहित २१ पुग्यो

| 2018 Dec 22 | 06:52 am 1732

तुलसीपुर, पुस ७ :  शैक्षिक भ्रमणबाट फर्कने क्रममा शुक्रबार साँझ बस दुर्घटनामा ज्यान गुमाउने २३ मध्ये ५ जनाको पहिचान खुलेको छ ।

जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमकाे भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न ।

दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका-१ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका-१४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ ।

अन्यको केही बेरपछिबाट सनाखत गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रुर हेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना  भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए ।

सो दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.