अनुराधालाई सम्मान गर्दै रेणुले भनिन्- ‘भरतपुर नमूना शहर बन्नेछ’

रिपोर्ट नेपाल | 2018 May 31 | 04:06 am 1380

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाको अभिनन्दन गरिएको छ । महिला बालबालिकाको बेचबिखनविरुद्ध अभियान चलाएर उत्कृष्ट काम गरेको भन्दै चितवनमा क्रियाशील आदर्शनारी विकास केन्द्र नामक संस्थाले प्रदेश प्रमुख कोइरालाको अभिनन्दन गरेको हो ।

उक्त संस्थाले आफ्नो रजत महोत्सवका अवसरमा बुधबार चितवनको नारायणगढमा आयोजित अभिनन्दन, सम्मान तथा रजत महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै अनुराधा कोइरालाले महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताइन् । बेचबिखनविरुद्ध एकजुट सबै महिलालाई एकजुट हुन समेत उनले आह्वान गरिन् ।

प्रदेश प्रमुख र एक अभियन्ताको हैसियतले आफू हात जोडेर बिन्ती गर्न तयार रहेको भन्दै अनुराधाले भनिन्– ‘हामी एकजुट होऔँ, एकजुट भएर हामी लाग्यौँ भने नेपाललाई बालबालिका र महिला बेचबिखनमुक्त गराउन सक्छौँ ।’

उक्त संस्थाले महिला बालबालिकाको बेचबिखनविरुद्ध अभियान चलाएर उत्कृष्ट काम गरेकामा उच्च मूल्यांकन गर्दै कोइरालालाई दोसल्ला ओढाएर कदरपत्रसहित अभिनन्दन गरेको थियो भने कार्यक्रममा सामाजिक अभियानमा लाग्ने विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको विशेष उपस्थिति रहेको सो कार्यक्रममा नगरप्रमुख रेणुले आदर्शनारी विकास केन्द्रले सराहनीय काम गरेको भन्दै हिंसा र बेचबिखन रोक्न सबै लाग्नुपर्नेमा जोड दिइन् । भरतपुरलाई नमूना शहरका रूपमा विकास गर्न लागिएको जानकारी पनि उनले सो अवसरमा दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.