अनशनरत डा केसीको स्वास्थ्यमा समस्या

रिपोर्ट नेपाल | 2018 Jul 02 | 10:11 am 3438

 

सुर्खेत, असार १८: शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको रहेको जनाइएको छ ।

अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए। “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ,” मेडिकल डाइरेक्टर रोकायाले बताए।

बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन गरिरहेका डा केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए। स्वास्थ्य अवस्थामा समस्या देखिएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनले जनाए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताए। “डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउनेलाई कडाइ गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

डा केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिग्रदैँ गएको उनले जनाए। यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनको भनाइ छ । अनशनरत डा केसीका समर्थकले भने उनको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.