काठमाडौं, मंसिर २५ः अनलाईन मार्फत सट्टाबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान प्रदेश चुरु जिल्ला सुजनगढ ठाना घर भई हाल काठमाडौं नरदेवी बस्ने ३२ वर्षीय पवन कुमार शर्मा र पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं ८ कपन बस्ने ३७ वर्षीय रुद्र प्रसाद पोखरेल रहेका छन् ।
काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भईरहेको छ भन्ने सूचनाको आधारमा विशेष प्रहरी टोलीले निगरानी गर्ने क्रममा हिजो शनिबार बेलुकी नरदेवीबाट उनीहरूलाई विभिन्न गेमहरु अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तरगत अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।