काठमाडौं, भदाै २३: सरकारी सेवा प्रवाह छिटो र छरितो गर्न लाइनको विकल्पमा अनलाइन सेवा ल्याइयो। तर, अनलाइन सेवा झन्झटिलो बनेको सेवाग्राहीको भोगाइ छ। कन्सुलर सेवा विभाग नारायणहिटीमा पुगेकाहरूको दुःखलाई हामीले नजिकबाट नियालेका छौँ।
कमाउन, पढ्न तथा घुम्नका लागि मानिस विदेश जान्छन्। प्रहरीको चारित्रिक प्रमाणपत्र लिएपछि कन्सुलर विभागको छाप नलगाई उड्नै पाइँदैन। यो प्रक्रिया पूरा गर्न सजिलो छैन। विशेष गरी काम र मामको खोजीमा परदेसिने युवाहरूको भीड कन्सुलर विभागमा धेरै हुन्छ। पहिला लाइन लगाएर २ हजार ५ सय बढीलाई सेवा दिइन्थ्यो। गत भदौ १३ गतेबाट अनलाइनमार्फत विभागले कागजात प्रमाणीकरण थाल्यो। अहिले १ हजार हाराहारीलाई मात्रै सेवा दिन्छ। आइतबार बिहान ४ बजेदेखि साँझसम्म हामीले विभागको दृश्यलाई नियालेका छौं।
०००

‘के छ तपाईंको हालखबर ?’ उनी केही बोलेनन्।
केहीबेर पछि बोले, ‘हाल त बेहाल छ। ३ बजे होटलबाट आ’को।’
लमजुङका सन्तोष विसुरालले पीडा सुनाए। ‘के कामले आउनुभयो ?’
‘छाप लगाउन आ’को। विदेश जाँदै छु।’
उमेरले ३५ मात्रै पुगेका छन्। ‘यो संसारमा दुखियालाई कहीँ सुख छैन,’ पीडाको पोको खोले, ‘विदेशमै हुँदा फिस्टुलाले च्याप्यो। रोग र रित्तो गोजी लिएर बोकेर गत कात्तिकमा घर आएँ। फिस्टुलाको अपरेसन गराएँ। ४ लाख ऋण लागेको छ। त्यही ऋण तिर्न फेरि विदेश जाँदैछु।’
भावुक हुँदै थपे, ‘२५ हजार ऋण खोजेर कागजमा छाप लगाउन आएको। खल्ती रित्तियो। काम सकिएकै छैन।’ यसो भन्दै गर्दा उनको गला अवरुद्ध भयो। सुँक्क—सुँक्क गर्न थाले।
भदौ ८ गते सन्तोष प्रहरी रिपोर्ट लिन र प्रमाणीकरण गर्न काठमाडौं आएका हुन्। ‘तीन दिन लगाएर प्रहरी रिपोर्ट लिएँ। त्यही रिपोर्टमा छाप लगाउन बिहीबारै फारम भरेँ। चार दिन भो। फारम एसेप्ट गरेको म्यासेज आएको छैन,’ फेरि भने। गाडी भाडा, होटल खर्च, फारम भर्दाको खर्च र छाप लाउन तिरेको दस्तुरले बेखर्ची भएका छन्।
उनी जस्ता हजारौं गरिब युवाहरूलाई अनलाइनको सेवा सहज होइन, सास्ती र खर्चिलो भएको छ।
‘अनलाइनले सेवा सहज भयो’ भनेर प्रहरी र कन्सुलर विभागले दाबी गरिरहेका छन्। झट्ट सुन्दा लाग्छ पनि त्यस्तै। तर, वास्तविकता सन्तोष जस्ता युवालाई मात्रै थाहा छ। ‘प्रहरी र कर्मचारीलाई अनलाइनले सहज त बनायो होला, साइबरवाला र होटलवालाको कमाई पनि दोब्बरै भयो होला’, सन्तोष भन्छन्, ‘तर, हाम्रो दुःख र खर्चको कुरै नगरूम्।’
हामीले उनलाई कन्सुलर सेवा विभाग नारायणहिटीको गेटमा बिहान ७ बजे भेटाएका थियौं। अन्नपूर्ण पाेस्ट दैनिकबाट