काठमाडौं, बैशाख १८ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका छन्।
सरकार कोराना संक्रमण फैलिन नदिन लागिपरेको र मुलुक लकडाउनमा रहेको कारण देखाउँदै ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका हुन्।
नेकपा सचिवालयको बुधबार साँझ बसेको बैठकमा नेताहरुले तत्काल स्थायी कमिटी बैठक डाक्नुपर्ने धारणा राखेका थिए। बैठकमा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहले आआफ्ना दाबी प्रस्तुत गरेका थिए। दुवै पक्षले अडान नछाडेको स्रोतको दाबी छ।
दाहाल पक्षले विधानतः पार्टी सञ्चालन हुन नसकेको र नेतृत्वकै कारण सरकार बदनाम भएकाले प्रधानमन्त्री ओलीले नै निकास दिनुपर्ने बताएका थिए।
कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीकै कारण समस्या आएकाले उनले नै निकास दिनुपर्ने, स्थायी कमिटी बैठक तत्काल डाक्नुपर्ने र प्रधानमन्त्रीले सांसदलाई बालुवाटार बोलाएर शक्ति प्रदर्शन गर्ने काम रोक्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीकै कारण पार्टी बदनाम भइरहने, जिम्मेवारीचाहिँ पार्टीले लिनुपर्ने, अब व्यक्तिका कारण पार्टी बद्नाम हुनु हुँदैन, निकास चाहिन्छ, वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो।
अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रका समस्यामा गम्भीर छलफल भएको बताए। सायद अर्को बैठकले निष्कर्ष निकाल्नेछ, खनालले भने, बाहिर आएका र अहिले भएका सबै विषयमा हाम्रो छलफल भयो। अब अर्को बैठकले स्थायी कमिटी बैठक मिति तय गर्नेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीभित्र पछिल्लो समयमा विकसित घटनाक्रम समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्नेबारे छलफल भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए।
सचिवालय बैठक २० गते पुनः बस्नेछ। पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउनेलगायत विषयमा छलफल भएको उनले बताए। उनले बैठकमा सामान्य विवाद भएको संकेत गर्दै २० गते पुनः सचिवालय बैठक बोलाइएको बताए। नागरिक न्युज दैनिकबाट