अदालतको ढोकैबाट पुनः पक्राउ पर्ने कार्य चिन्ताजनक भएको सर्वोच्चको स्पष्ट

रिपोर्ट नेपाल | 2020 Aug 10 | 10:18 am 1518

काठमाडौं, साउन २६ः रिहा गर्न आदेश दिएको व्यक्ति मुक्त भएपछि अदालतको ढोकैबाट पुनः पक्राउ पर्ने कार्य चिन्ताजनक भएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ ।

न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासले गरेको आदेशमा उल्लेख छ–थुनामा राखेको मानिस अदालतको आदेशबमोजिम थुनाबाट मुक्त भएका अवस्थामा अदालत परिसरको ढोकैबाट पक्राउ गरी लैजाने प्रवृत्ति चिन्ताजनक हो । यस प्रकारको प्रवृत्तिले स्वेच्छाचारितालाई बढावा दिन्छ, कानुनको शासन र संविधानद्वारा प्रत्याभूत मौलिक हकहरुको प्रचलनमा गम्भीर आघात पुर्याउँछ ।

अधिवक्ता चिरञ्जीवी ढकाललाई लकडाउनको बेलामा कानुनी सेवा प्रदान गर्न हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । अधिवक्ता ढकाललाई गैरकानुनी रुपमा पक्राउ गरिएको उल्लेख गरी सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।

ढकाललाई यसअघि पनि रिहा गर्न अदालतले पटक–पटक आदेश गरेको थियो । रिहा हुनासाथ ढकाललाई पुनः पक्राउ गरिएको थियो । अधिवक्ता ढकालललाई मात्र होइन अदालतले रिहा गर्न आदेश दिएका अन्य केही व्यक्तिलाई अर्को मुद्दाको आरोप लगाई अदालतको ढोकैबाट सुरक्षाकर्मीद्वारा पक्राउ गरिने कार्यलाई निरन्तरता दिने गरिएको भन्ने आरोप सरोकारहरुबाट लगाइँदै आएको छ ।

अधिवक्ता ढकालको रिटमाथि सुनुवाइ गरी सर्वोच्चले गत जेठ २५ गते अधिवक्ता ढकाललाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशको पूर्ण पाठ सर्वोच्चले आइतबार तयार गरेको हो ।

राज्यद्वारा कुनै व्यक्तिको स्वतन्त्रता अपहरण गरिएमा त्यसको प्रक्रिया न्यायिक, स्वच्छ र तर्कसंगत हुनुपर्ने उल्लेख गर्दै सर्वोच्चले कानुनको उचित प्रक्रिया अनुशरण नगरी व्यक्तिलाई बन्दी बनाउने कार्य अनुचित हुने स्पष्ट गरेको छ । अधिवक्ता ढकाललाई अभद्र व्यवहार गरेको आरोप लगाई पटक–पटक पक्राउ गरिएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.