‘अण्डरलाइन’ दर्ता नभएपछि आयोगमा नेकपाले अर्को निवेदन दिँदै

रिपोर्ट नेपाल | 2018 May 31 | 01:20 am 1329

काठमाडौं, जेठ १७: नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले अण्डरलाइन राखेर निर्वाचन आयोगमा निवेदन दिएपनि दर्ता प्रक्रिया अघि नबढेपछि बिहीबार अर्को निवेदन दिने भएको छ ।

जेठ ३ गते औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्दै निवार्चन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । आवश्यक कागजात नपुगेको आयोगको प्रतिक्रियापछि जेठ १४ गते नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी २०६९ सालमा ऋषि कट्टलेले दर्ता गरेकोले एकै नाममा दुर्इवटा दल दर्ता हुन नसक्ने भएकोले अण्डरलाइन गरिएको थियो । नेकपाकै नाममा कट्टेलको दर्ता छ भने विप्लव नेतृत्वको पार्टी नेकपाकै नाममा सञ्चालित छ । पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।

उनले पार्टीको नाम परिमार्जन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बिहीबारै आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताए । आयोगमा नेकपाले ४४१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको छ । औपचारिक छानबिनपछि आयोगले अन्तिम निर्णय गर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.