अझ नियन्त्रणमा आएन झाडापखाला, बिरामीको संख्या एक सय साठी

रिपोर्ट नेपाल | 2019 Apr 27 | 04:50 pm 1995

गुल्मी, वैशाख १४ :मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन। झाडापखालावाट बिरामी हुनेको संख्या शनिबार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए।

बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको र एक जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बिरामी भने दजाकोटमै सञ्चालित अस्थायी शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताए।

गुल्ली अस्पतालका डा उत्तम पचभैयाका अनुसार उपचार गराउन आएका पाँचैजनाको दिसा परीक्षण गर्दा सबैको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण हुनसक्ने बताए। उक्त स्थानमा झडापखालाको कारण पत्ता लगाउन पानी परीक्षण गर्न विश्व स्वास्थ्य सङ्गठनको एक टोली आजै प्रभावित क्षेत्रमा पुग्ने उनले जानकारी दिए।

नगरपालिकाको स्वास्थ्य शाखाले प्रभावित क्षेत्रमा स्थानीय विद्यालयमा अस्थायी शिविर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका चिकित्सक सहितका स्वास्थ्कर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार गर्दै आएको छ।

प्रभावित क्षेत्रमा खानेपानीको समस्या झाडापखालावाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला मानिसलाई पिउने पानीको समस्या रहेको छ। ८५ घरपरिवाले उपभोग गर्दै आएको पानी दूषित बनेपछि स्थानीयवासीले यति बेला उक्त पानी पिउन छाडेका छन्। गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने स्थानबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरमा पानी बोकेर स्थानीयवासीलाई वितरण गर्दै आएको छ। पानीको संक्रमणबाट मानिस थप बिरामी नहोउन् भनेर नगरपालीकाले उक्त स्थानमा झाडापखाला नियन्त्रणमा नआउँदासम्म शुक्रबारदेखि प्रत्येक घरपरिवालाई पिउनका लागि एक कार्टुनका दरले मिनरल वाटर उपलब्ध गराएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकामरी दिए ।

नगरपालिकाले झाडापखालाबाट बिरामी भएकालाई उपचारका लागि आवश्यक बजेट उपलब्ध गराउने र उपचारमा कुनै कमी हुन नदिने उनले आग्रह गरे। अहिले प्रभावित बस्तीमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिले स्थानीयवासीलाई सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

झडापखालाको प्रकोप देखिएको उक्त ठाउँका मानिसमा शुरुमा पेट दुख्ने, बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.