अछाम, कात्तिक १: भीरबाट खसेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका ७ सुतारका १० वर्षीय अम्मर भण्डारी र बान्नीगढ जयगढ गाउँपालिका ६ दर्नाका ५२ वर्षीय नारायण शाह रहेका छन् ।
भण्डारीको बाख्रा चराएर फर्किने क्रममा र शाहको दाउरा काट्न जाने बेलामा भीरबाट खसेर बुधबार ज्यान गएको प्रहरीले जानकारी दिए ।
भीरबाट लडेर करिब ५० मिटर तल बाँसको झारीमा परेका भण्डारीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। मृतक भण्डारी कालिका इङ्लिस बोर्डिङ स्कुलका कक्षा १ का छात्र हुन्।
शाह साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले खोजी गर्दा दाउरा काटेको स्थानदेखि करिब ५० मिटर तल मृत अवस्थामा भेटिएको वडाध्यक्ष कृष्णबहादुर कडायले जानकारी दिए।