अग्रीम हाजिर गरेर जिल्ला छाड्ने चिकित्सकलाई कारवाहीका लागि सिफारिश

रिपोर्ट नेपाल | 2018 Aug 11 | 11:02 am 3220

जाजरकोट, साउन २६: स्वास्थ्य जस्तो संवेदनशिल संस्थामा कार्यरत चिकित्सकले आफूखुसी कार्यालय छोडेपछि त्यस्ता चिकित्सकलाई स्थानीय प्रशासनले कारवाही लागि सम्बन्धीत निकायमा सिफारीस गरेको छ ।

जाजरकोट जस्तो दुर्गम जिल्लामा कार्यरत चिकित्सकले गैह्रजिम्मेवारी पूर्ण कार्यगरी महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको हो ।

जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले महिना नबित्दै साउनभरिको हाजिर गरेर जिल्ला छाडेको सूचना प्राप्त गरेपछि प्रशासनले यस्ता गैह्रजिम्मेवार चिकित्सकलाई कारवाहीको लागि सिफारीस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्ने अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएकाले निजलाई स्वास्थ्य सेवा ऐनअनुसार कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।

चिकित्सक राईले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । आफू स्वंयम महिला भएर पनि महिलाको प्रसुति लगाएत अन्य स्त्रीरोगसँग खेलवाड गरेर अग्रीम हाजिर कापीमा सहि गरेर हिड्ने काम चोर चिकित्सकलाई हदैसम्मको कारवाहीका लागि स्थानीय जनप्रतिनिधिले आवाज उठाएका छन् ।

दुई वर्षअघि नै १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.