अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

| 2024 Oct 01 | 11:46 am 169

काठमाडौँ, आश्विन १५ / राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवसायीहरूले दसैंका लागि खुलाइएको अग्रिम टिकट बुकिङ बन्द गर्न आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज दिउँसो ३ बजे सरकारसँग यसबारे छलफल गर्ने बताए।

‘चारदिन देखिका यात्रुहरू अस्तव्यस्त छन्। टिकट भएपछि दबाब बढ्छ। बाटोका कारण गाडी समयमा आउन सकेका छैनन्,’ उनले भने। अग्रिम टिकट असोज १२ गतेदेखि खुलाइएको थियो। अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्‍याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उनको भनाइ छ ।

त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको सिटौला बताउँछन् । यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए । अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभाग भने बेखबर छ ।

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले यसबारे यातायात व्यवसायीले अहिलेसम्म केही जानकारी नगराएको बताएका छन् । उनले देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नरहेको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.