अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थाल्ने

रिपोर्ट नेपाल | 2020 Apr 30 | 08:31 am 1348

काठमाडाैं, बैशाख १८ः सरकारी वकिलले कालोबजारी गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थप कारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालले वर्तमान गम्भीर परिस्थितिमा पनि कालोबजारी गरेको उल्लेख गर्दै सरकारी वकिल सिर्जना ढकालले अग्रवाललाई थुनामा नै राखेर मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गरेका हुन् ।

कालोबजारी गरेको आरोप लागेका अग्रवालले कालोबजारी तथा केही सामाजिक सुधार ऐन–२०३२ विपरीतको कार्य गरेको आरोप लगाई सरकारले मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारले दायर गरेको अभियोगपत्रमा उक्त ऐनको दफा २ को खण्ड (क), दफा ३, दफा ५ लगायत बमोजिम कारबाही हुन माग गरेको थियो । दफा २ को खण्ड (क) मा कुनै वस्तुको तोकिदिएको मोलभन्दा बढी मँल्यमा सामान बिक्री गर्न नुहने उल्लेख गरिएको छ ।

दफा ३ मा कुनै पनि वस्तुको सयकडा २० भन्दा बढी नाफा हुने गरी बिक्री गर्न नहुने प्रावधान राखिएको छ । दफा ५ मा बजारमा कृत्रिम अभाव हुने गरी कुनै पनि वस्तुको सञ्चय गर्न र त्यस्तो वस्तु बढी नाफामा बिक्री गर्न नहुने स्पष्ट गरिएको छ ।

व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको छ । सरकारले अग्रवालविरुद्ध १५ लाख ७८ हजार ९ सय १३ रुपियाँ ७ पैसा बिगो कायम गरेको छ । कसँर गर्दा प्रयोग गरेको २०९–एचसीसी–१ नम्बरको पजेरो गाडी र बरामद भएको थर्मल गन जफत गर्न अभियोगपत्रमा माग गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक सहकुल थापाको नेतृत्वमा स्टिङ अप्रेसन गरेर अग्रवाललाई रङ्गेहात समातिएको थियो । त्यस बेला सुलभ अग्रवालले बिल पनि दिन मानेका थिएनन् । चेकमा पनि कारोबार गर्न मानेका थिएनन् । उनले जति नगद छ त्यतिको मात्र थर्मल गन बिक्री गर्न खोजेका थिए ।

१२ सय वटा थर्मल गन करिब २४ सयमा चीनबाट ल्याएकोमा प्रायः ८ हजार ५ सयले भ्याट बिल नै काटेर विभिन्न रिटेलरलाई बेचेको सुलभ अग्रवालको दाबी छ । धेरै त उनले आफन्त र साथीलाई सित्तैमा दिइसकेको पनि जानकारी गराए । सुलभलाई २० हजार थर्मल गन चीनबाट ल्याएर १२ सयवटाको मात्र भन्सार तिरेको पनि आरोप छ ।

व्यापारी अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थालेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार अग्रवालविरुद्ध विभागले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

गैरकानुुनीरूपमा सम्पत्ति आर्जन गरेको आशंका भएमा विभागले सम्बन्धित व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाउने गर्दछ । विभागले बुधबार पत्र पठाई अग्रवाल छुटीजाने भएमा आफँसमक्ष पठाइदिन माग गरेको बताइएको छ । विभागले अग्रवालविरुद्ध प्रारम्भिकरूपमा अनुसन्धान थालेको बुझिएको छ ।

अग्रवालविरुद्धको बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा नै पठाइएको छ । आज बिहीबार पुनः अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.