अख्तियारले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर

रिपोर्ट नेपाल | 2019 Sep 19 | 06:59 am 1602

काठमाडौं, असाेज २: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ।

चौरसिया पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन्। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कुसरमा दसवटा मुद्दा चलाइएको जानकारी दिए। अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा दर्ता गरेको छ।

चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको दाबी अख्तियारको छ। अख्तियारका अनुसार चौरसियाले शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घुस लिएका छन्। उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

चौरसियाले दुई लाख घुस लिई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

गलत तथा नक्कली कागजातका आधारमा राहत शिक्षकमा नियुक्त भई कुर्मीले तलबभत्ताबापत ४ लाख २६ हजार ५६० बुझेका छन्। चौरसिया र कुर्मीविरुद्ध घुसको दुई लाख र तलबको ४ लाख २६ हजार ५६० सहित ६ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसादविरुद्ध भुक्तानी दिलाउने मतियार बनेको आरोपमा ४ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।

मदरसामा शिक्षक नियुक्तिमा चौरसियासहित ३ जनाविरुद्ध अर्को मुद्दा दायर गरिएको छ। चौरसियाले २ लाख २० हजार घुस लिएर श्री मदर्सा इस्लामिया दारुल उल्लुम पाण्डेमा फिरोज आलमलाई नियुक्ति गरेका थिए।

फिरोजले नक्कली कागजातका आधारमा नियुक्त भएर १ लाख १८ हजार ८५० तलबभत्ता बुझेका छन्। फिरोजलाई ३ लाख ३८ हजार ८५० बिगो कायम गरिएको छ। शिक्षक फिरोजविरुद्ध घुस दिएको २ लाख २० हजार जफत र ३ लाख ३८ हजार ८५० असुलउपर मागसहित मुद्दा हालिएको छ भने विनि चौरसियाविरुद्ध घुस लिएको २ लाख २० हजार जफत तथा सरकारलाई हानिनोक्सनी भएको १ लाख १८ हजार ८५० असुलउपरको मागदाबी गरिएको छ।

यसमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ताका प्रधानाध्यापक महेशप्रसाद यादवलाई मतियारको भूमिका खेलेको आरोपमा मुद्दा दायर गरिएको छ। उनीविरुद्ध १ लाख १८ हजार ८५० बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित मुद्दा हालिएको हो। अन्नपूर्ण दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.