कञ्चनपुर, असोज २७ : चोरी शिकारीको निगरानी र आहारको सुधारपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि ल्याइएका कृष्णसारको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार फाँटामा कृष्णसारको संख्या ७१ पुगेको बताइएको छ ।
जस मध्ये कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेको पनि निकुञ्जले जनाएको छ । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । गत वर्ष कृष्णसारको सङ्ख्या ६० रहेको थियो जस मध्ये कृष्णसारका बयस्क भाले १८, पोथी १६, अर्धबयस्क भाले आठ, पोथी दुई र साना पाठापाठीको सङ्ख्या १६ रहेको थियो ।
२०७३ मा कृष्णसारको सङ्ख्या ४५ मात्रै रहेको थियो । जसमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको थियो । विसं २०६९ असोजमा नेपालगञ्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुरमा सारिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीशिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको थियो ।
नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छन् ।