विश्व बैंकले नेपाललार्इ साढे २३ अर्बको सहयोग गर्ने

| 2018 Oct 11 | 07:07 am 4098

काठमाडौं – विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार कार्यक्रमका लागि करिब साढे २३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। इन्डोनेसियाको बालीमा जारी बैंकको वार्षिक साधारणसभाका क्रममा बजेटरी प्रणालीबाट खर्च गर्ने गरी दुईवटा सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल, भुटान तथा बंगलादेशका लागि कन्ट्री डाइरेक्टर क्युमिआओ फानले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा अर्थमन्त्री युवराज खतिवडा र बैंकको दक्षिण एसियाका लागि उपाध्यक्ष हार्टविग स्काफरको उपस्थिति थियो।

समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्रमा सुधार ल्याउन र आर्थिक वृद्धिका लागि उक्त सहयोग महत्वपूर्ण हुने बताए। उनले आगामी दशकभित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए। त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने बताउँदै उनले विश्व बैंकमार्फत थप सहयोगको अपेक्षा व्यक्त गरे।

पहिलो सम्झौता अनुसार विश्व बैंकले चौथो वित्तीय क्षेत्र स्थिरता विकास नीति क्रेडिट (डिपिसी)का लागि करिब ११ अर्ब सात करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउनेछ। त्यस्तै, दोस्रो सम्झौतामा ऊर्जा क्षेत्र विकासको पहिलो परियोजना नीति कार्यान्वयनका लागि ११ अर्ब सात करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.