काठमाडौं, असोज २३ : प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमको जसरी भए पनि संसद प्रवेश गर्न लागिपरेका छन् ।
बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका वामदेवले पछिल्लो समय कसरी संसदभित्र पस्ने भनेर अनेक उपायहरु खोजिरहेका छन् । अन्तत: संसदभित्र पस्नका लागि नेता गौतम काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका छन्। डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।
सांसद रामवीर मानन्धरले पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिन लागेको बताएका छन् । उनले पार्टीको निर्णयबाटै आफुले टिकट पाएर जितेको र अहिले पनि पार्टीले राजीनामा दिन लगाएपछि राजीनामा दिन लागेको बताएका हुन् ।
पार्टीको सचिवालयको बैठकले उनलाई राजीनामा दिन लगाएपछि सांसद मानन्धरले राजिनामा दिन लागेका हुन् । बुधबार पार्टीको बैठकले राजीनामाको निर्णय गर्ने पनि उनले जानकारी दिए । त्यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीवाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको भेला आयोजना गरेर मानन्धरले आफुले राजिनामा दिन लागेको जानकारी गराएका थिए ।
साेमबार सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरलाई राजिनामा गराएर वामदेवलाई उक्त ठाउँबाट उम्मेदवार बनाएर जिताउन प्रस्ताव नै पेश गरेका थिए।
काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्बाचित भएका हुन । पछिल्लो निर्बाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए । नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजिनामा गराएर डोल्पामा चुनाव उठ्ने योजनामा थिए ।