पूर्वराजाको परिवारसहित एक हजार शिवसेनाका प्रतिनिधि भारत जाँदै

| 2018 Oct 09 | 06:56 am 2094

काठमाडौं, असोज २३: थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता जनाउनेछन्। पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ । राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन् । आयोजक समितिले नेपालबाट हजारौं धार्मिक कार्यकर्ता जुटाउन आग्रह गरेपछि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूह लागिपरेका छन् ।

बस्नेतलाई सहभागी जुटाउने जिम्मा दिइएको छ । शिवसेना नेपालका सल्लाहकारसमेत रहेका राहुलेश्वरानन्दले करिब एक महिनाअघि ज्ञानेन्द्रलाई भेटेर प्रमुख अतिथिको निम्तो दिएका थिए। सोही निम्तो मान्न पूर्वराजाका परिवार भारत जान लागेका हुन्।

शिवसेना नेपालले नेपालीहरुको सहभागिताका लागि नेपालका विभिन्न स्थानबाट भारतको मुम्बईसम्म लैजाने र कार्यक्रममा सहभागिता गराउने जिम्मा लिएको छ । शिवसेना नेपाल मुम्बई सम्पर्क प्रमुख केवीजंग कुँवरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न र कार्यक्रममा सहभागी हुन सार्वजनिक अपिल गरेका छन्। त्यसका लागि अध्यक्ष बस्नेतसहितको टोली भारत पुगिसकेको छ । नेपालबाट जाने एक हजार जनाको बन्दोबस्त शिवसेना नेपालले गर्नेछ ।

युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जन, विश्वहिन्दु महासंघका पदाधिकारी, राप्रपाका दोस्रो पुस्ताका केही नेता कार्यकर्ता समेत मुम्बई जाने कार्यक्रम तय भएको छ ।

यज्ञको कार्यक्रम सकेलगत्तै ज्ञानेन्द्र परिवार केही दिनको दिल्ली बसाइपछि नेपाल फर्कने कार्यक्रम रहेको छ । भारतभ्रमण सकेलगत्तै फूलपातिका दिन नेपाल फर्कने कार्यक्रम छ । नेपाल फर्केलगत्तै महाअष्टमीको दिन पूर्वराजाका परिवार शक्तिपीठमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.