निर्मला हत्या प्रकरणको प्रतिवेदनमै गम्भीर त्रुटी

| 2018 Oct 08 | 08:25 am 2015

काठमाडौं, असोज २२ : कञ्‍चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको ७३ दिनपछि सार्वजनिक भएको प्रतिवेदनमा समेत गम्भीर त्रुटी फेला परेको छ।

निर्मला हत्याको विषयमा छानविन गर्न गठित उच्‍चस्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदनमा बुझिएको पीडित पक्ष तथा स्थानीयको संक्षिप्त भनार्इ शिर्षकमा रोशनी भन्‍ने आँचल बमको भनार्इ उल्लेख गर्दै लेखिएको छ, ‘साउन ९ गते म निर्मलाको घरमा गएर चटपटे खाएं। निर्मलासँग १० गते मेरो घरमा बसेर सँगै होमवर्क गर्ने सल्लाह भयो। ११ गते अन्दाजी ११ बजेतिर निर्मला साइकल चढेर मेरो घरमा आइन्।’

सोही प्रतिवेदनको शव बरामद भएको स्थानको विवरण शिर्षकमा मिति २०७५/ ४/ २० गते दिउँसोदेखि हराइरहेकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट साउन ११ गते बिहान ९ बजेतिर भिमदत्त नगरपालिका – १८ निम्बुखेडास्थित उखुबारीमा मृत अवस्थामा फेला परेको उल्लेख छ।

त्यसैगरी साउन १० गते घटना भइ ११ गते शव फेला परेको छ भने प्रतिवेदनमा साउन ७ र ८ गते प्रदर्शन उग्र भएको उल्लेख छ।

यसरी हेर्दा प्रतिवेदनमा गम्भीर त्रुटी भएको छ। तर, प्रहरी अनुसन्धान तथा घटनाको विषयमा सत्यतथ्य छानविन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदनमा यस किसिमको गल्ती हुनु नपर्ने हो।

उच्चस्तरीय छानविन समितिले ९ असोजमा प्रतिवेदन गृहमन्त्रालयलार्इ बुझाएको थियो। त्यसको अध्ययन गर्ने नाममा १२ दिनपछि मात्रै २१ असोजको आइतबार साँझ प्रतिवेदन सार्वजनिक गरेको हो।

साउन ११ गते मृत भेटिएकी निर्मला पन्तको दोषी अहिलेसम्म पत्ता लाग्‍न सकेको छैन। यसबीचमा विभिन्‍न व्यक्तिहरुलार्इ अभियुक्त बनाइ पक्राउ गर्ने र दोष कबुल गर्न तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले प्रयास गरे तर उपयुक्त प्रमाण नभेटिदा उनीहरु रिहा भए।

हाल प्रारम्भिक अनुसन्धानमा संलग्‍न ६ जना प्रहरी अधिकारीहरुलार्इ निल्मबन गरेर अनुसन्धान अघि बढाएको छ। घटना दिनानुदिन थप पेचिलो र रहस्यमय बन्दै गएको छ।

निर्मलाको हत्याको दोषी पत्ता लगाएर कारबाही गर्नुपर्ने माग राख्दै दिनानुदिन देशभर विरोध प्रदर्शनहरु भइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.