सानेपामा काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

रिपोर्ट नेपाल | 2018 Oct 07 | 12:51 pm 1557

 

काठमाडौँ, असोज २१ : प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठकको बस्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेपाली काङ्ग्रेसले जनाएको छ ।

बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मस्यौदा तयारीका बारेमा जानकारी गराउने बताइएको छ । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनः संरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालसम्म विधान संशोधन मस्यौदा तयारीका लागि पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको छ ।

समितिले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य र भ्रातृ संस्थाका प्रमुखको सुझाव लिएको हो । काङ्ग्रेसले असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गरी विधान संशोधन गर्न सुझाव सङ्कलन गरेको थियो । सङ्कलित रायसुझाव समावेश गरेर असोज २५ भित्र मस्यौदालाई अन्तिम रूप दिने गृहकार्य भइरहेको छ । सुझावको अध्ययनपछि अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिनेछ । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा महासमिति बैठकमा पेश हुनेछ ।

गत भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.