काठमाडौं, असोज २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सुरक्षाको प्रत्याभुतिसमेत गराउन नसकेको भन्दै सरकार ‘नालायक’ भएको बताए।
मुलुकमा अपराधका श्रृंखला निरन्तर बढीरहे पनि त्यसको नियन्त्रणका लागि सरकारले तदारुकता नदेखाएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकार जनविरोधी भएको भन्दै आलोचना गरेका हुन्।
देउवाले दुर्इ महिना अघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालार्इ पक्राउ गरेर कारबाही गर्नुको साटो अनेक बाहनामा घटना लम्बाइरहेको बताए। उनले भने, ‘सरकारले विकास र समृद्धि भनेपनि त्यसको साटो महँगी, भ्रष्टाचार, अपराधलार्इ प्रश्रय दिइरहेको छ।’ जनतालार्इ करको मारमा पारेर आफू ऐस-आराममा बसिरहेकोसमेत देउवाले बताए।
प्रदेश नम्बर सातको राजधानी गोदावरी राखेको प्रति आपत्ति जनाउँदै सभापति देउवाले जंगल फडानी गरेर गोदावरीलाई राजधानी बनाउने निर्णय बिरुद्ध उत्रन कार्यकर्तालाई सभापति देउवाको निर्देशनसमेत दिएका छन्।
जंगल फडानी गरेर ऐस–आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सभापति देउवाले यस्तो निर्णयका बिरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिएका हुन्।
नेपाल विद्यार्थी संघ, डडेलधुरा–काठमाडौं सम्पर्क समितिद्धारा शनिबार काठमाडौंमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘गोदावरी वातावरणीयलगायत अन्य कुनै पनि हिसाबले प्रदेशको राजधानीका लागि उपयुक्त ठाउँ होइन।’ सबै हिसाबले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी नै उपयुक्त हुने देउवाको तर्क थियो।