आइतबार बस्ने सचिवालय बैठकले प्रदेश र जिल्लाको पार्टी एकता टुङ्गीन्छः अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल | 2018 Oct 06 | 12:31 pm 1816

काठमाडौँ, असोज २० : पार्टी एकता भएको लामो समय बित्दा पनि तल्लो तहसम्म एकता नभएको गुनासो उठीरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् ।

अध्यक्ष दाहालले उक्त कुरा वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बताएका हुन् । पार्टी एकताबारे शुक्रबार प्रधानमन्त्रीसँग बसेर छलफल भएको बताउँदै अध्यक्ष दाहालले आइतबार बस्ने सचिवालयको बैठकले प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई टुङ्याउने बताएका छन् ।

अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको बताएका थिए । सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दैछौ मानिसले विभिन्न प्रश्न उठाएको बताउँदै अध्यक्ष प्रचण्डले समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्वीविधा नभएको उल्लेख गरे ।

जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

अध्यक्ष प्रचण्डले लामो सङ्घर्ष र बलिदानीपश्चात् नेपालमा अहिले विशिष्ट प्रकृतिको असाधारण राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै त्यसको महत्व र गहिराइलाई गम्भीर चिन्तनमनन गरेर सम्भावनासँगै ठूलाठूला चुनौतीको सामनाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्यूठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिवद्धताअनुरुप बाँकी काम पूरा गर्न सक्रिय ढङ्गले लाग्ने बताएका थिए।

नेकपाका केन्द्रीय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.