काठमाडाैँ, असोज २० : बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल अन्तर्गत साविक विजेता नेपालले समूहको दोस्रो खेलमा आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ ।
तुलनात्मक रुपमा बलियो प्यालेस्टाइनविरुद्धको खेल नेपालका लागि गर या मरको अवस्थामा छ । नेपाललार्इ सामान्य जितले मात्रै पुग्दैन । सेमिफाइनलमा पुग्नका लागि कम्तिमा ३–० को अन्तरमा जित निकाल्नुपर्छ ।
बंगलादेशको सिलेटमा हुने खेल नेपाली समय अनुसार अास साँझ सवा ६ बजे देखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग दुई शुन्यको हार ब्यहोरेको थियो । तर यही समूहमा ताजिकिस्तान प्यालेस्टाइनसँग दुई शुन्यले पराजित भएपछि नेपाललाई सेमिफाइनलमा पुग्न झन् कठिन भएको छ ।
आजको खेलमा नेपाललाई खेलाडीको चोटले निकै पिरोलेको छ । नेपालका तीन मुख्य खेलाडी घाइते छन् । डिफेन्डरहरु अनन्त तामाङ, विराज महर्जन र आदित्य चौधरी घाइते छन् । उनीहरु दोस्रो खेलमा खेल्ने नखेल्ने अझै यकिन हुन सकेको छैन ।
प्रतियोगितामा ताजिकिस्तानले दुबै खेल खेलिसकेको छ । उसले सेमिफाइनल पुग्न नेपाल र प्यालेस्टाइनको खेल कुरिरहेको छ । ताजिकिस्तान र प्यालेस्टाइनको समान तीन तीन अंक छ ।
यता नेपाल अंकविहिन छ । आज नेपालले प्यालेस्टाइनलाई कम्तिमा दुई गोलले जितेमा पनि ढुक्क हुने अवस्था भने छैन । नेपालले जित निकालेमा तीन वटैको समान तीन तीन अंक हुनेछ ।
त्यसपछि गोल अन्तरमा पनि तीन टिमको शुन्य जस्तै हुनेछ । यस्तो अवस्थामा फेयर प्लेका आधारमा तीन मध्ये दुई टिमको टुङगो लाग्नेछ ।