अमेरिकालार्इ इरानमाथिका प्रतिबन्ध फुकुवा गर्न आदेश

रिपोर्ट नेपाल | 2018 Oct 05 | 11:24 am 2445

द हेग, असोज १९ : संयुक्त राष्ट्रसंघको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई आदेश दिएको छ । राष्ट्रसंघ मातहतको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)को आदेश कानुनी रूपमा बाध्यकारी हुन्छ तर ट्रम्प प्रशासनले दशकौं अघि गरिएको एक सन्धिलाई खारेज गर्ने बताएको छ ।

इरानले त्यही सन्धिका आधारमा अमेरिकी प्रतिबन्धविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सन् १९५५ को अमिटी सन्धि पुरानो भएकाले त्यसमा परिमार्जन आवश्यक भइसकेको र त्यही सन्धिको आडमा इरानले पर्याप्त कारणबेगर नै राष्ट्रसंघीय अदालतमा अमेरिकाविरुद्ध उजुरी गरेको बताए ।

पोम्पेओले मानवीय र हवाई उड्डयन बाहेकका अन्य क्षेत्रमा प्रतिबन्धहरू लगाउने बताएका छन् । ‘अमेरिकाले आईसीजेमा मुद्दा आउनुअघि नै यी विषयलाई अघि सारेको हो’, पोम्पेओले भने । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले कूटनीतिक सम्बन्धसम्बन्धी भियना अभिसन्धिमाथि हुन लागेको परिमार्जनबाट अमेरिका बाहिरिने स्पष्ट पारेका छन् । इरान र प्यालेस्टाइनले हेगस्थित न्यायालयमा अमेरिकाविरुद्ध मुद्दा चलाउन सक्ने प्रावधान पछिल्लो संशोधनमा राखिएको भन्दै बोल्टनले असन्तुष्टि प्रकट गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले इरानसँग अमेरिकासहित विश्वका महाशक्ति राष्ट्रले गरेको आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौताबाट गत मे महिनाबाट अलग भएको घोषणा गरेका थिए । उक्त घोषणासँगै ट्रम्पले इरानमाथि कडा आर्थिक प्रतिबन्ध घोषणा गरिसकेका छन् ।

इरानले राष्ट्रपति ट्रम्पको कदमविरुद्ध गत जुलाईमा अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिएको थियो । अदालतको प्रारम्भिक आदेशमा वासिङटनले औषधि र चिकित्सा उपकरण, खाद्यान्न तथा कृषिजन्य वस्तु र नागरिक उड्डयनका लागि अत्यावश्यक पार्ट र अन्य उपकरण खरिद गर्नबाट प्रतिबन्ध लगाउन नपाउने उल्लेख छ । तथापि इरानले अनुरोध गरेबमोजिम सम्पूर्ण प्रतिबन्ध भने अदालतले फुकुवा गरेको छैन ।

नेदरल्यान्ड्सका लागि अमेरिकी राजदूत पिटर होक्स्ट्राले यही विषयमा ट्विट पनि गरेका छन्, ‘क्षेत्राधिकार नै नभएको विषयमा अदालतले आदेश दिएको छ र यसको कुनै अर्थ छैन । तैपनि इरानले आग्रह गरेझैं प्रतिबन्धहरूको पूर्ण फुकुवा भएको छैन ।’ प्रारम्भिक आदेश दिनेक्रममा अदालतका अध्यक्ष अब्दुलक्वावी अहमद युसुफले मुद्दामाथिको सुनुवाइ निरन्तर हुने र अमेरिकाले अदालतको क्षेत्राधिकारका विषयमा चुनौती पनि दिनसक्ने बताए ।

इरानका विदेशमन्त्री मोहम्मद जावद जारिफले अदालतको आदेशप्रति खुशी व्यक्त गरे । उनले ट्विट गर्दै भने, ‘प्रतिबन्धको भोको अमेरिकाका लागि यो अर्को असफलता हो र यो कानुनको जित हो ।’ इरानी टेलिभिजन च्यानलहरूले अदालतको आदेशका सम्बन्धमा खुशी जनाउँदै विश्लेषण र ग्राफिक्स प्रशारण गरिहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.