काठमाडौं, असोज १९: संविधानको प्रस्तावनामा नै नेपाललाई बहुभाषिक र बहुधार्मिक देश राख्नुपर्छ भने नेपाली कांग्रेसले नै हस्ताक्षर गरेको थियो।
संविधानको जारी भएको तीन वष बित्न नपाउँदै कांग्रेस महामन्त्री डा शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा बारम्बार सार्वजनिक रुपमै अभिव्यक्ति दिन थालेका छन्।
कांग्रेसकै तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएकोबेला ऐतिहासिक संविधानसभाले जारी गरेको संविधानको प्रस्तावनाले भने नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश मानेको छ ।
ठूला पर्वको सुरुवातमा रत्नराज्य लक्ष्मी क्याम्पसका प्रजातन्त्रवादी प्राध्यापकहरूले बिहीबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा शशांकले हिन्दूराष्ट्रको विषयमा अब प्रश्न उठाउने वेला आएको बताएका हुन् ।
१३औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका शशांकले महाधिवेशन उद्घाटनकै दिन धर्मनिरपेक्षता र संघीयताको विषय पुनरावलोकन गर्नुपर्ने तर्क राखेका थिए ।
सोही कार्यक्रममा उपस्थित भएका डा शेखर कोइराला भने हिन्दूराष्ट्रको प्रसंगमा प्रवेश नै गरेनन् । उनले सभापति शेरबहादुर देउवालाई अझै शक्तिशाली बनाउने गरी कांग्रेसको विधान परिवर्तन गर्न खोजिएकोप्रति आपत्ति जनाए ।
‘पदाधिकारी सबै मनोनीत गरेर सभापतिलाई निरंकुश बनाउन कोही पनि तयार छैनन्,’ उनले भने, ‘मनोनीत हुँदा तेरो र मेरो भन्ने हुन्छ । त्यसैले सबै पदाधिकारी निर्वाचित गरेर जानुपर्छ ।’
आरआर क्याम्पसका प्रजातन्त्रवादी प्राध्यापकहरूले आयोजना गरेको शुभकामना कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ७०–८० प्रतिशत हिन्दू भएकाले नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । एउटा नेसनल रिफ्रेन्डम जनमतसंग्रहमार्फत हिन्दूराष्ट्र हुनुपर्छ भनेर मैले भनेको फेरि पनि दोहोर्याएर भन्न चाहन्छु ।
‘त्यसवेला हाम्रै केन्द्रीय सदस्य, खुमबहादुर खड्काजीले हिन्दूराष्ट्रका लागि केन्द्रीय समितिमा प्रस्ताव नै दर्ता गराउनुभएको थियो । त्यसवेला मेरा भनाइ ‘हाम्रो संविधान जे छ ठीकै छ’ भन्ने थियो । जब परिस्थितिमा परिवर्तन आउँछ, एक किसिमको द्वन्द्वको समाधान भइसकेपछि हामीले हिन्दूराष्ट्रको प्रश्न उठाउनुपर्छ भनेको थिएँ । मलाई लाग्छ, अब समय आएको छ, हिन्दूराष्ट्रको प्रश्न उठाउनुपर्छ ’, सशांकले भने।
खासखास मौकामा रणनीतिक अस्त्रका रूपमा हिन्दूराष्ट्रको नारा तर, अहिलेसम्म पार्टीमा प्रस्ताव दर्ता गराएका छैनन्
२० फागुन ०७२ मा १३ औँ महाधिवेशन उद्घाटन भएकै दिन बिबिसी नेपाली सेवासँगको संवादमा शशांकले धर्म र संघीयताबारे आफूसँग प्रश्न भएको बताएका थिए। ‘हामीले अहिलेको अवस्थामा फेरि एकपटक पुनरावलोकन त गर्नैपर्यो,’ उनले भने । संविधानसभाबाट संविधान बनेलगत्तै संघीयता र धर्मनिरपेक्षताबारे विवादित अभिव्यक्ति दिएका उनी महाधिवेशनबाट सजिलै महामन्त्रीमा निर्वाचित भएका थिए ।
०७३ असोजमा चितवनमा पनि शशांकले धर्मनिरपेक्षताको विषयलाई जनमतसंग्रहबाट टुंग्याउनुपर्ने बताएका थिए । ‘कम्युनिस्टले धर्मको शून्यताको कुरा गर्छन् । तर, कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको हो,’ प्रेस युनियन चितवनको कार्यक्रममा उनले भनेका थिए, ‘यो मेरो व्यक्तिगत धारणा हो । तर, धर्मनिरपेक्षताको विषयमा उठेको विवादलाई टुंग्याउने उपयुक्त विधि नै जनमतसंग्रह नै हो ।’
खुमबहादुर खड्काले केन्द्रीय समिति बैठकमा पार्टीले औपचारिक रूपमै सनातन हिन्दूराष्ट्रको विषय उठाउनुपर्ने प्रस्ताव गरेका थिए । हिन्दूराष्ट्र नहुँदा कांग्रेस झन् कमजोर बनेको भन्दै उनले सनातन हिन्दूराष्ट्रका लागि केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव लगेका थिए ।
यसरी कांग्रेस महामन्त्रीले सार्वजनिक रुपमै हिन्दुराष्ट्रका पक्षमा अभिव्यक्तिहररु दिइरहेको छ। मुलुकमा हिन्दुराष्ट्रका पक्षमा जनमत कायमै हुनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना पनि हिन्दुराष्ट्र भएकोले उनले यस विषयमा औपचारिक रुपमा भनेको हुनुपर्दछ।
नेपालको राजनीतिमा भारतीय प्रभाव रहने गरेको सबै राजनीतिक दलका शर्ष नेताहरुले स्वीकार्छन। सशांले बारम्बार हिन्दुराष्ट्रका पक्षमा बोल्नुलाई यस अर्थमा पनि बुझ्न सकिन्छ।
आगामी कांग्रेस महाधिवेशनका सभापतिका दाबेदार मानिएका सशांले सत्तामा पुग्ने भ¥याङका रुपमा पनि प्रयोग गर्नसक्ने टिप्पणी हुन थालेको छ।