‘नेपालको निर्वाचन प्रणाली महँगो, राजनीति भ्रष्ट’

रिपोर्ट नेपाल | 2018 Oct 05 | 07:45 am 3346

नेपाल विश्व सम्बन्ध परिषद्ले आयोजना गरेको एक अन्तरक्रियात्मक कार्यक्रमका सहभागी वक्ताहरूले नेपालको निर्वाचन प्रणाली महँगो र राजनिित भ्रष्ट रहेको औंल्याएका छन् ।

‘सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक नीति’ विषयमा हिजो ललितपुरमा आयोजित सो अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक नीतिमा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रमा राजनीतिक दलले शासन गर्ने हुँदा यी विषयलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । निर्वाचन प्रणाली महँगो भएकाले राजनीतिमा भ्रष्टाचार बढेको महसुस भएकोे र, यसलाई चाँडो सच्याउनुपर्ने उनको तर्क थियो ।

यस्तै, नेपालको वैदेशिक नीतिका विषयमा सबै राजनीतिक दलले साझा दृष्टिकोण राख्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महतले देशमा वैदेशिक लगानी भित्राउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल हुने हुँदा देशको हितलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा पूर्व मुख्यसचिव सोमलाल सुवेदीले सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक नीतिमा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भए पनि राजनीतिक क्षेत्रबाट प्रशासनलाई आउने दबाबले कार्य सम्पादनमा समस्या हुने गरेको अनुभव सुनाए ।

मुलुकको सामाजिक विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण प्रभाव पार्ने हुँदा वैदेशिक नीतिका विषयमा साझा दृष्टिकोण राख्न राजनीतिक दललाई उनले आग्रह गरे ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले मुलुकको संरचनागत परिवर्तनले स्थानीय तहलाई जनताप्रति जिम्मेवार बनाएको भएपनि त्यहाँ भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तह, प्रदेश र केन्द्रबीच समन्वय हुनुपर्ने खाँचो औंल्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.